दफा १८
सुरक्षित सदस्य संस्था गाभिएमा वा एकीकरण भएमा
: (१) कुनै सुरक्षित सदस्य संस्थासँग अर्को एक वा सोभन्दा बढी सुरक्षित सदस्य संस्था गाभिई वा एकीकरण भई नाम परिवर्तन गर्नु परेमा त्यस्तो संस्थाले नयाँ नाम कायम गर्न कोष समक्ष निवेदन दिनु पर्नेछ ।
(२) उपदफा (१) बमोजिम प्राप्त निवेदन उपर कोषले जाँचबुझ गर्दा व्यहोरा मनासिब देखिएमा परिवर्तित नाममा दफा १५ को उपदफा (२) बमोजिम सुरक्षित सदस्य संस्थाको सदस्यता प्रमाणपत्र प्रदान गर्नु पर्नेछ । कुनै एक सुरक्षित सदस्यको नाम रहने गरी सुरक्षित सदस्य संस्थाहरु गाभिएमा वा एकीकरण भएमा कायम रहेको सुरक्षित सदस्य संस्थाको नाम अभिलेख गर्नका लागि कोष समक्ष निवेदन दिएमा कोषले सोही बमोजिम त्यस्तो सुरक्षित सदस्य संस्थाको नाम अभिलेख गरी गाभिएका वा एकीकरण भएका अन्य सुरक्षित सदस्य संस्थाको लगत कट्टा गरिदिनु पर्नेछ ।
(३) उपदफा (१) बमोजिम गाभिएर नयाँ कायम हुन आएको सुरक्षित सदस्य संस्थाले गाभिए पश्चात् कायम भएको सुरक्षण हुन सक्ने निक्षेपका आधारमा सुरक्षण शुल्क बुझाउनु पर्नेछ ।
(४) कुनै सुरक्षित सदस्य संस्था अर्को सुरक्षित सदस्य संस्थासँग गाभिएमा त्यस्तो गाभिने सुरक्षित सदस्य संस्थाले कोषलाई तिर्नु, बुझाउनु पर्ने सुरक्षण शुल्क, जरिबाना वा अन्य जुनसुकै रकम उपदफा (१) बमोजिम नयाँ कायम हुन आएको सुरक्षित सदस्य संस्थाले तिर्नु, बुझाउनु पर्नेछ ।
(५) बैङ्क तथा वित्तीय संस्था सम्बन्धी प्रचलित कानून बमोजिम गाभ्ने, गाभिने, विघटन वा एकीकरण भएका प्रत्येक सुरक्षित सदस्य संस्थाको निक्षेप कोषलार्इ लिखित जानकारी गराएको मिति देखि तीन महिनासम्म अलग अलग रुपमै सुरक्षित राख्नु पर्नेछ ।